उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन दिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन दिन आग्रह गरेको छ ।
आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको पर्यवेक्षण गर्न आजदेखि कात्तिक ३० गतेसम्म समय दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार, स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची–६३ बमोजिम निवेदन दिन भनिएको हो ।
सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने प्रवक्ता सापकोटाले बताए ।
आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रूपमा प्रतिवेदन लिई सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।