अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
हरीको नियनत्तणमा हुनेहरुमा पर्साको पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।
उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो ।
साथै पक्राउ परेका दुबै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
त्यस्तै, वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।