‘विश्वको मूल्य समस्या जलवायु परिवर्तन हो’

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले विश्वको मूल्य समस्या जलवायु परिवर्तन रहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजानको बाकु पुगेका उनले यस्तो बताएका हुन् ।
हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न आइपुगेका अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभसँग भेट गर्दै सो उम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकÞम लगानी गर्न एवम् कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) आजदेखि सुरु भएको छ । उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सो भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गतको सम्मेलनमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुने जनाइएको छ ।
राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यसूची रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म संचालन हुने भएपनि राष्ट्रपछि पौडेल त्यसअघि नै स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।