किशोरीलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

तु खबर संवाददाता
२०८१ कार्तिक २८,बुधबार १५:१६

काठमाडौं । सरकारले देशभरका १६ लाख भन्दा बढी किशोरीलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले देशैभरका १६ लाख ८८ हजार नौ सय किशोरीलाई निःशुल्क खोप लगाउन लागेको जानकारी दिए ।

उनका अनुसार, मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रुपमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो ।

यस निर्णयबाट देशभरका ७ देखि १४ वर्ष उमेर समूहका किशोरीहरु लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

उनले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेको बताए । उनका अनुसार, यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले यो खोप लगाउन पाउनेछन् ।

आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको उनको भनाई छ ।