स्थानीय तह उपनिर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ कार्तिक २८,बुधबार १५:२४

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरुसँग अन्तरक्रिया गरेको हो ।

आयोगको कार्यालय, कान्तिपथ काठमाडौंमा भौतिक उपस्थिति र अनलाईन उपस्थिति (दुवै माध्यम) बाट सञ्चालित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिनमा सम्पन्न गर्नुपर्ने कार्यहरुबारे संक्षिप्त जानकारी गराएका थिए ।

उनले उपनिर्वाचनमा आ–आफ्नो काम, कर्तव्य र अधिकार प्रति सबै सचेत र प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।

यस्तै, सो क्रममा आयुक्त सगुन समसेर जबराले निर्वाचन आयोगको संवैधानिक दायित्व समेतलाई मध्यनजर गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अन्तरक्रियाले सबैलाई मद्दत पुगेको र सोही अनुसार व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने कुरामा जोडदिने बताए ।

कार्यक्रममा उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा आयोगका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको थियो ।