एमालेको जागरणसभा तयारीका लागि समिति गठन

तु खबर संवाददाता
२०८१ कार्तिक २८,बुधबार १८:०१

काठमाडौं । नेकपा एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरिएको छ । नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरणसभा तयारीका लागि ११ सदस्यीय समिति गठन गरेको हो ।

एमालेले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको संयुक्त आयोजनामा जागरणसभा गर्न लागिएको हो । त्यसको लागि पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले समिति गठन गरेको हो ।

सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको पार्टीको बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन् ।

जागरणसभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।