बागमती प्रदेशः गठबन्धन सरकारको सय दिनमा गरिएको कार्यहरु सार्वजनिक

तु खबर संवाददाता
२०८१ कार्तिक २८,बुधबार १८:१३

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका कार्यहरु सार्वजनिक गरिएको छ ।

बुधबार प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ नेतृत्वको सरकार गठन भएयता एक सय दिनभित्र गरेको प्रमुख कार्यहरु बुधबार सार्वजनिक गरिएको हो ।

बुधबार हेटौंडा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लामाले यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरेका थिए ।

मुख्यमन्त्री लामाले सय दिनको अवधिमा सुशासन र विकासका लागि आधारहरु तयार गर्ने काम भएको बताउँदै कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भएको बताए । विपत् व्यवस्थापनमा प्रदेश सरकारले काम गर्न चाहेपनि कति ऐन कानुनका कारण कार्यान्वयनमा समस्या रहेको उनले उल्लेख गरे ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माणलगायतका कार्यहरु गरिएको भन्दै उनले प्रदेश सरकारको सय दिनको मुख्य–मुख्य उपलब्धिमा नीतिगत तथा कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य पदपूर्ति गरिएको, रुग्ण आयोजनाहरुको पहिचान गरिएको, खानेपानी कार्यालय स्थापना, विद्युतीय चालक अनुमतिपत्र प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा पुगेको, कार्यविधिहरु स्वीकृत गरिएको बताए ।