प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १५:३९
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ ।

आगामी मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आह्वान गरिएको हो ।

सो बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गरिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार, बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओली डिसेम्बर पहिलो साता चीन भ्रमणमा जाने तयारी रहेको छ ।