एमालेको जागरण सभामा एक लाख कार्यकर्ता सहभागी हुने

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १६:३४
file-photo

काठमाडौं । नेकपा एमालेले आयोजना गर्न लागेको जागरण सभा कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी हुने भएका छन् । कार्यक्रम आगामी मंसिर ७ गते हुँदैछ ।

मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डमा हुने जनसभा कार्यक्रममा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको जनाइएको छ ।

सो सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले बताए । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति पनि गठन भइसकेको छ ।

एमालेले काठमाडौंपछि देशैभर जागरण सभा आयोजना गर्ने नेता भट्टराईले बताए ।