नेपाल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

तु खबर संवाददाता
२०८१ कार्तिक २९,बिहीबार १७:२८

बाकु । नेपाल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफबीच भेटवार्ता गरेका हुन् ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेका राष्ट्रपति पौडेलले आफ्ना समकक्षी राष्ट्रपति अmियेफसँग भेट गरेका हुन् ।

सो क्रममा उनले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरे ।

नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनको ठुलो प्रभाव व्यहोरी रहेको बताउँदै उनले हिमालमा भएका हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवं जलवायु परिवर्तनबाट निःसृत प्राकृतिक विपद्बाट हरेक वर्ष ठुलो जनधनको क्षति भइरहेको जानकारी गराए । उनले यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठुलो क्षति व्यहोर्नुपरेको स्मरण गरे ।

यस्तै, भेटको क्रममा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाए । नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको उनको भनाई छ ।