थाहा नगरमा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा बिहिबारदेखि सुरु भएको हो ।
मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए । मंसिर १ गतेसम्म संचालन हुने प्रतियोगितामा थाहा नगरका ६ संस्थागतसहित १७ वटा विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ ।
नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत आयोजित प्रतियोगितामा १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर तथा ३ हजार मीटर छात्रछात्रा दौड हुनेछ ।
यस्तै, छात्र–छात्रा १ सय मिटर र ४ सय मिटर रिले दौड, हाईजम्प, त्रिपल जम्प, सटफुट तथा मार्चपास रहेका छन् भने कराते प्रतियोगिता पनि सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने थाहा नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।
मेयर कप भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु ५ हजारका साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।