एमालेको जनजागरण सभा मङ्सिर ७ मा
काठमाडौं । नेकपा एमालेको जनजागरण सभा आगामी मंसिर ७ गते हुने भएको छ । उक्त सभा भृकुटीमण्डपमा गर्न लागेको शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको हो ।
बागमती प्रदेश इन्चार्ज एवम् जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्दछ भन्ने तथ्य स्थापित गर्न उक्त सभा आयोजना गर्न लागेको भनिएको छ ।
एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु मुख्य आयोजक, विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन, सम्पर्क समन्वय समिटी र विभागहरुको सहभागितामा भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्न लागेको उनले बताए ।
यो बेलामा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित रहेको उल्लेख गरिएको छ ।
राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न एमालेको सिङ्गो पंक्ति लागिरहेको तथ्य जगजाहेर नै रहेको भन्दै जनबल र जनसमर्थनका आधारमा राष्ट्र एवम् जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवम् समाजवादउन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पुरा गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको इन्चार्ज भट्टराईले बताए ।