सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

तु खबर संवाददाता
२०८१ मंसिर १,शनिबार ०९:१२

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिन आह्वान गरिएको छ । उक्त संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो ।

समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधि, २०८१ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जारी सूचना उल्लेख गरिएको छ ।

दरखास्त दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, बजार व्यवस्थापन वा सूचना प्रविधि वा प्रसारण सम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुहुर्ने जनाइएको छ ।

सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र अर्थात् मंसिर ७ गतेभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन सकिने जारी सूचनामा भनिएको छ ।