एकीकृत समाजवादीले १३ पदमा उम्मेदवार टुङ्ग्यायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न उपनिर्वाचनको लागि १३ पदमा उम्मेदवार ढुंगो लगाएको छ । एकीकृत समाजवादीले आगामी मंसिर १६ मा हुने उपनिर्वाचनका लागि शनिबार दिउँसोसम्म विभिन्न १३ पदमा उम्मेदवार टुङ्गो लगाएको हो ।
पार्टीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र १० वडाध्यक्ष पदमा उम्मेदवार टुङ्गो लगाएको जानकारी दिए ।
हालसम्म कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिलबहादुर विश्वकर्मी, सुनसरीको गढी गाउँपालिका वडा नं ६ वडाध्यक्षमा डोमी उराव, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष्मा निर्मला चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै, मधेस प्रदेश अन्तरगत धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्षमा गोपाली साह, रौतहटको गढीमाई नगरपालिका वडा नं ८ वडाध्यक्षमा वजरंगीप्रसाद यादव, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्षमा सदरे आलमलको नाम सिफारिस गरिएको छ ।
यसैगरी, बागमती प्रदेश अन्तरगत नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्षमा मानबहादुर लामा, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, वडाध्यक्षमा बलराम बल, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा रविना खड्का, काठमाडौँ महानगरपालिका १६ वडाध्यक्षमा मीनबहादुर मानन्धर, कीर्तिपुर नगरपालिका ४, वडाध्यक्षमा रिता खड्काको नाम सिफारिस भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा जवा शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६, वडाध्यक्षमा जीतेन्द्र चन्द्रको सिफारिस गरिएको उनले बताए ।
सिफारिस भएर आउने क्रम जारी रहेको उनले बताए । भोलि बिहानसम्म सबै उम्मेदवार टुङ्गो लागिसक्ने उनको भनाई छ ।
उपनिर्वाचनको लागि भोलि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।