हेटौंडा–१२ उपनिर्वाचन: १४ जनाले गराए मनोनयन दर्ता
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
उपनिर्वाचन अन्तरगत आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जनाले यही मंसिर १६ गते हेटौंडा–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार, वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फकाट बलराम बलले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाइबा, दीपा लामाले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी, स्वतन्त्र तर्फबाट युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन पत्र दर्ता गराएका हुन् ।
बागमती प्रदेश, निर्वाचन कार्यालयका प्रमुख अधिकृत हरिप्रसाद ढकालले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएकाहरुको नामावली भने विवरण छानविन गरी मंसिर ५ गते अपराह्नमा सार्वजनिक गर्ने बताए । उनले मनोनयन दर्ता गराएकाहरुले नाम फिर्ता लिनका लागि सोही दिन ३ देखि ५ बजेसम्म समय तोकिएको बताए ।