पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन पनि बजाएको थियो ।
उनी कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका थिए । उनको ८३ वर्षको उमेर आइतबार उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए ।