उपनिर्वाचनः बागमतीमा ७ पदको लागि १०२ जनाको मनोनयन दर्ता
मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको सात पदमा हुने निर्वाचनका लागि १०२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
प्रदेशको विभिन्न चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । तीमध्ये दुई जना अन्य २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका नगरप्रमुख पदको लागि २० जना, कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा ९ जना, कीर्तिपुर नगरपालिकाकै ४ नं. को वडाध्यक्षमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि १९ जना, दोलखाको गौरीशकर गाउँपालिकाको उपाध्यक्ष पदमा १६ जना, हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा १४ जना र नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मंगलबार उजुरीउपर छानबिन र निर्णय गर्ने निर्वाचन आयोगको निर्वाचन कार्यतालिका रहेको छ ।