लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, झापा र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ८० मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बर्धवा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हस्नपुर बस्ने २७ वर्षीय नवराज पुरी रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।
त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ९० मिलिग्रामसहित प्रहरीले सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय आश्विक थारूलाई सोमबार बिहान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट सोमबार अवैध लागूऔषध खैरो हेरोइन ८ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फालेलुङ गाउँपालिका–६ ओदिम्बा टोल घर भई इलाम सूर्योदय नगरपालिका–८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राई रहेका छन् । लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट पनि नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल र ब्रुफिन २८ एम्पुलसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–५ शान्तिनगर डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका–१४ माधबपुर घर भएका २७ वर्षीय रूबिन वाईवा रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख २५३० नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।