लोसपाले स्थानीय तहका जनप्रतिनिधिको भेला बोलायो

तु खबर संवाददाता
२०८१ मंसिर ५,बुधबार ०८:१९
file-photo

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय जनप्रतिनिधिको भेला आह्वान गरेको छ ।

लोसपा नेपालले आज काठमाडौंमा बस्ने गरी स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाएको हो ।

भेलामा स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा भएका काम तथा दलित, विपन्न वर्गका लागि अघि सारिएका योजनाबारे छलफल हुने लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले जानकारी दिए ।

लोसपा नेपालले उपनिर्वाचनमा भाग नलिए पनि त्यसको बारेमा विचार विमर्श गर्ने उनले बताए । यही मंसिर १६ हुन गइरहेको स्थानीय तहको उपचुनावमा लोसपा नेपालको भूमिकाबारे पनि जनप्रतिनिधिहरूसँग छलफल गरेर एउटा निर्णय लिने उनको भनाई छ ।

यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापति निर्वाचित भएका थिए ।