दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो ।
मंगलबार बिहान भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई आज बिहान म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको भन्दै अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको आरोप लगाएका थिए ।