चाडपर्व लक्षित अनुगमनबाट ६८ लाखभन्दा बढी जरिवाना असुल

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार १५:२०

काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनबाट सरकारले ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा (असोज र कात्तिक) महिनामा गरेको चाडपर्व लक्षित बजार अनुगमनबाट ६८ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।

विभागका अनुसार, असोज महिनामा गरिएको अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्ने १०० फर्मलाई जरिवाना गरेको हो । विभागले उक्त महिनामा ५७० फर्मको अनुगमन गरेको थियो ।

यस्तै, कात्तिक महिनामा नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरिएको हो । विभागले कात्तिक महिनामा ५२० वटा फर्मको अनुगमन गरेको थियो ।

ती फर्मलाई नियम विपरीत, मूल्य सूची नराख्ने, रिलेबलिङ् गर्ने, कालोबजारी गर्ने गरेको पाइएपछि जरिवाना तिराइएको हो ।