राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई सचिवको जिम्मेवारीमा खटाइने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ ।
बिहीबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनीमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार, बैठकले प्रदेशको विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदमा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी (अधिकृत) लाई खटाउने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रुद्र प्रसाद लामिछानेलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यस्तै, संघबाट आएका वेद प्रसाद भण्डारीलाई मुख्यमन्त्री कार्यालयको प्रशासनिक जिम्मेवारी प्रदान गरिएको प्रवक्ता लामिछानेले बताए ।
बैठकले प्रदेश नीति तथा योजना आयोगका सचिव केशव प्रसाद सुवेदीलाई मुख्यमन्त्री कार्यालयको समेत जिम्मेवारी दिइएको छ ।