गति लिँदै गौरिटार, मन्त्री महर्जनद्वारा स्थलगत निरिक्षण
हेटौंडा । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य समयभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिनसमेत आग्रह गरे । उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको बताए ।
राज्यका निकायका कमिकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयदेखि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन । मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई पटक–पटक ताकेता गरेपछि निर्माणको कामले गति लिएको हो ।
हाल फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र चाँडै निर्माण कार्यले पूर्णता पाउने प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए । त्यस्तै अन्य संरचना निर्माणको कार्यले पनि तीब्रता पाएको उनले बताए ।
प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रंगशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडि कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने गरी तत्कालिन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रंगशाला निर्माणको कार्यले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए ।
देश संघीय संरचनामा गएसँगै प्रदेश सरकार अन्तरगत रहेको उक्त आयोजनामा क्रमगत बजेट विनियोजन गरिँदै आएको छ ।