हेटौंडा–१२ उपनिर्वाचनः तिवारीको चुनावी अभियान जारी
मकवानपुर । आसनन स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन प्रसाद तिवारीको चुनावी अभियान जारी छ ।
यही मंसिर १६ गते हुने वडाध्यक्ष पदको निर्वाचनमा आफ्ना चुनावी एजेण्डा र वडाको समग्र विकासका योजनासहित तिवारी मतदाताहरुको घरदैलोमा पुगेर मत दिन आग्रह गर्दैछन् ।
नागरिकको समस्या र गुनासो सुन्ने तथा विकासका योजना निर्माणमा स्थानीय नागरिकहरुसंग अन्तरक्रिया गर्दै तिवारीले आफ्ना चुनावी कार्यक्रमलाई अगाडि बढाइरहेका छन् । भाषणमा भन्दा पनि काम गर्नुपर्ने भएकाले नागरिकहरुको आवश्यकता सम्बोधन गर्ने आफू मतदाताको घर–घर पुगिरहेको उनले बताए ।
विगतमा पनि वडाको विकासमा आफूले पदमा नरहदाँ समेत भूमिका खेलेको उनले नागरिकहरुको इच्छा अनुसारको वडा निर्माणमा अघि बढेको उल्लेख गरे । नागरिकका माग र समस्या सम्बोधन गर्न जरुरी रहेकाले वडाका २७ वटै टोल विकास समितिमा पुग्ने गरी आफूले कार्यक्रम तयार गरेको उनको भनाई छ ।
नागरिकको आर्थिक अवस्था सुधार गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै विशेषगरी कृषि उत्पादनमा वडालाई जोड दिने गरी कायक्रमहरु भइरहेको उनले बताए । युवा पुस्ताको माग र अग्रज नागरिकको अनुभवबाट वडाको आर्थिक सामाजिक साँस्कृतिक तथा पूर्वाधार विकासको काम अघि बढाउने उनले बताए ।