मतदाता भेटघाट कार्यक्रममा व्यस्त तिवारी
मकवानपुर । यही मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका अर्जुनप्रसाद तिवारी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनी आफ्नो वडाका मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका हुन् ।
५९ बुँदामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सोही दिनबाट आफ्नो महत्वपूर्ण एजेण्डासहित आफ्ना मतदाता भेटघाटका लागि घरदैलोमा व्यस्त रहेको उनको भनाई छ ।
हारे पनि आफ्नो वडाको लागि योगदान जारी राख्ने बताउँदै उनले भने, “हार–जितले मेरो सेवाभाव रोक्दैन। म कुनै न कुनै रूपमा आफ्नो वडाको हितमा काम गर्न प्रतिबद्ध छु ।”
उनले यसअघिको चुनावमा पराजित भएता पनि जनताको काममा इमान्दारीताका साथ लागि परेकोले यो पटक जनताले मन र मत दुबैले आफुलाई नै चुन्नेमा बिश्वस्त रहेको बताए ।
पछिल्लो १० वर्षदेखि स्थानीय विकासमा सक्रिय रही सामुदायिक परियोजनाहरू सञ्चालन र नेतृत्व गर्न उनको अनुभवले उनलाई यो भूमिकाका लागि योग्य बनाएको उम्मेदवार तिवारी बताउँछन् । उनी सामूहिक नेतृत्वको पक्षमा समुदायको सहभागितालाई प्राथमिकता दिएर पारदर्शी र जवाफदेही शैलीमा काम गर्ने बताउँछन् ।
वडाको मुख्य रूपमा पुर्वाधार र बेरोजगारी जस्ता समस्याहरू प्राथमिकतामा राखेर समाधान गर्ने योजना रहेको तिवारी बताउँछन् । जसमा खानेपानी परियोजनाको स्थायित्वका लागि नयाँ स्रोतहरू खोज्ने, वडाका प्रमुख सडकहरूको मर्मत तथा स्तरोन्नतिको काम अघि बढाउने र स्थानीय सीपमूलक तालिमहरू सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने लगायतको योजना रहेका छन् ।
उनी सामाजिक मुद्दाहरूमा यसो भन्छन्, “महिलाका लागि उद्यमशीलता विकास तालिम, बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरहरूको आयोजना गर्न पहल गर्नेछु।” उनि थप्छन्, “सामाजिक सुरक्षा भत्ता घरमै पुगी वितरण गर्ने वातावरण बनाउँछु ।”
यस्तै, बेरोजगारी समस्या समाधान गर्न स्थानीयस्तरमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र उद्यमशीलताको विकासका लागि सहकारी र सरकारी कार्यक्रमसँग समन्वय गर्ने उनको योजना छ ।
पारदर्शिता र जवाफदेहिताको सवालमा हरेक खर्चलाई वडाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने, जनप्रतिनिधिहरूसँग मासिक बैठक राखेर जनताका गुनासो सम्बोधन गर्ने जस्ता योजना उनका प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, प्रतिबद्धता पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक खरिद र बजेट खर्च प्रक्रियामा अनिवार्य रूपमा निगरानी समितिको गठन गर्ने उनको योजना रहेको उल्लेख छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति (जिसस) को प्रमुख भएसँगै रिक्त सो पदमा उपनिर्वाचन हुन् लागेको हो ।
गत मंसिर २ गते आइतबार उक्त पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १४ जनाले मनोनयन दर्ता गराएका थिए । जसमा राजनितिक दलबाट ९ जना र स्वतन्त्र ५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै हाल १२ उम्मेदवार कायम भएका छन् ।
उम्मेदवारी दिएका १२ जनामध्ये मुख्य तीन प्रमुख दल नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी, नेपाली कांग्रेसका उम्मेदवार तिवारी र नेकपा माओवादी केन्द्रका उम्मेदवार रबिकुमार प्रधान (रविन) बीच कडा प्रतिप्रस्पर्धा हुने देखिएको छ ।
उक्त वडामा महिला मतदाता ४ हजार एक सय ७४, पुरुष मतदाता ३ हजार ८ सय ७८ र अन्य मतदाता १ जना गरी कुल ८ हजार ५३ मतदाता रहेका छन् ।