अब मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिइने
काठमाडौं । सरकारले अब मृत्युपश्चात मानव अंग दान गर्नेका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त निर्णय गरेको हो ।
यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत् एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने मन्त्री पौडेलले बताए ।
उनको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको उनको भनाई छ ।
अंग दानमा सघाउँने अस्पताललाई पनि यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।