मतदान गर्नका लागि निर्वाचन आयोगले दियो यी विकल्प

तु खबर संवाददाता
२०८१ मंसिर ९,आईतवार १७:११

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले विभिन्न विकल्प दिएको छ ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूलाई मतदान गर्न आयोगले अन्य विकल्प पनि दिएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएकी हुन् ।

जारी सूचना अनुसार, मतदाता परिचयपत्र नभएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र अथवा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

सो व्यवस्था मिलाउन असम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको पनि सो सूचनामा उल्लेख गरिएको छ ।

उपनिर्वाचन अन्तर्गत मंसिर १६ गते देशभरको ४२ स्थानीय तहका विभिन्न पदमा मतदान हुँदैछ । सो दिन बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको लागि समय दिइएको छ ।