उपनिर्वाचनको लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना

तु खबर संवाददाता
२०८१ मंसिर १०,सोमबार १५:१०

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको छ ।

यही मंसिर १६ गते सम्पन्न हुन गइरहेको स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि आयोगले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरुबारे नियमित रुपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्देश्यले उक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरिएको हो ।

आयोगले निर्वाचन सुरक्षा (व्वस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार आजदेखि निर्वाचन परिणाम घोषणा नभए सम्मको लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना गरेको आयोगका प्रवक्ता एवम् सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

उनले एक विज्ञप्ति जारी सो बारे जानकारी गराएकी हुन् । प्रवक्ता अर्यालले जारी गरेको विज्ञप्तिमा सो केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव श्री रविलाल पन्थबाट गरिएको छ भने सदस्यहरुमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी, आयोगका उपसचिव दुर्गा प्रसाद चालिसे र सदस्य–सचिव आयोगका उपसचिव डा. थानेश्वर भुसाल रहेको उल्लेख छ ।

आसन्न उपनिर्वाचन–२०८१ को परिप्रेक्ष्यमा आचारसंहिताको पालना लगायतका कुनै पनि विषयहरुमा कुनै जानकारी वा गुनासो भएमा आयोगको कल सेन्टर ११०२ वा केन्द्रको फोन नम्बर ०१–५३२६३२६ मा सोझै सम्पर्क गर्न समेत आयोगले सबैलाई अनुरोध गरेको छ ।