बागमती प्रदेश खेलकुद परिषदमा ४ सदस्य नियुक्त
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ ।
सोमबार प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सरकारको मन्त्रिपरिषद् बैठकले २ महिलासहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा ललितपुरका रवी महर्जन, मकवानपुरका संगित श्रेष्ठ, चितवनकी नविना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरेको प्रवक्ता लामिछानेले बताए ।
यस्तै, बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको पनि उनले बताए ।