सार्वजनिक लेखा समितिद्वारा साधारण खर्च कटौती गर्न निर्देशन

तु खबर संवाददाता
२०८१ मंसिर ११,मंगलवार ०९:५७

मकवानपुर । बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले साधारण खर्च कटौती गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

लेखा समितिको सोमबार बसेको बैठकले सरकारलाई मितव्ययी बन्न र साधारण खर्च घटाउने गरी कार्यसम्पादन गर्न निर्देशन दिने निर्णय गरेको समिति सभापति श्रीराम रामिछानेले बताए ।

साधारण खर्च कटौती गर्न यसअघि दिएको निर्देशन सरकारबाट कार्यान्वयन नभएको भन्दै मन्त्रालयभित्रैकै विषयविज्ञ कर्मचारीबाट काम चल्ने ठाउँमा समिति गठन गरेको र करारमा कर्मचारी राख्ने व्रmम बढोत्तरी भएकाप्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

यस्तै, बैठकले गत असोजको दोस्रो साता गएको बाढीपहिरोपछिको पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई तीव्रता दिनेसमेत निर्देशन दिएको छ । समितिले बाढीपहिरोबाट भएको क्षतिको वास्तविक विवरण सङ्कलन गरी योजना बनाएर प्रदेश सरकारको अर्थ विविध शीर्षकबाट र संघीय सरकारसँग बजेट माग गरी पूर्वाधार निर्माणका कार्य सुरु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।