मंगलबार पनि घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । यसदिन सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ घटेसँगै आज सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार एकैदिन सुन तोलामा १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको हो ।
यसैगरी, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । मंगलबार भाउ घटेसँगै चाँदी तोलामा १ हजार आठ सय २० रुपैयाँ कायम भएको छ । जबकी सोमबार चाँदी तोलामा एक हजार आठ सय ४५ रुपैयाँ थियो ।