वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर ११,मंगलवार १६:१३
file-photo

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कात्र्तिक लाल राजवंशी रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तितकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।

उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट, पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार र कात्र्तिकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।