‘थाहा नगर प्रदेश सरकारको विशेष प्राथमिकतामा छ’

तु खबर संवाददाता
२०८१ मंसिर ११,मंगलवार १७:००

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले थाहा नगर प्रदेश सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

मुख्यमन्त्री लामाले मंगलबार गोरख सम्वत् २८१८ को  उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले थाहा नगरपालिकाको कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताए ।

थाहा नगरपालिकालाई धार्मिक तथा कृषि पर्यटनको रुपमा लैजान प्रदेश सरकार तयार रहेको बताए । उनले गोरखनाथ मन्दिर आउने सडकको स्तरोन्नतीको लागि स्थानीय सरकारलाई डिपिआरसहित प्रदेश सरकार समक्ष आउन अनुरोध गरे ।

थाहा नगरपालिका वडा न ३ डाँडागाउँमा भएको कार्यक्रम गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको हो ।  कार्यक्रम सो केन्द्रका अध्यक्ष फणी प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त प्रसाद खनाल, नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, वडा न ११ का वडा अध्यक्ष दिनेश बल लगायतको आतिथ्यता रहेको थियो ।

साथै सो कार्यक्रमको अवसरमा पालुङमा निर्मित वायु मण्डलिय शक्तिपिठको निर्माणमा अतुलनीय योगदान दिएको भन्दै गोरखनाथ कल्याण केन्द्रले थाहा नगरका युवा समाजसेवी तथा निर्माण व्यवसायी राजन ढकाल र शम्भु सिं कार्कीलाई सम्मान गरेको थियो ।