संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

तु खबर संवाददाता
२०८१ मंसिर ११,मंगलवार १७:३१

काठमाडौं । सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो बढेपछि विद्युतीय हाजिरी अनिवार्यको व्यवस्थान गर्न भनिएको सो मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्याको अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सो को जानकारी पठाउन पत्राचार गरेको जनाइएको छ ।