दोषी ठहर भएको ३ वर्षपछि पक्राउ परिन् हेटौंडाकी महिला
मकवानपुर । जिल्ला अदालत मकवानपुरद्वारा दोषी ठहर भई फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–३ की ३४ वर्षीया सानु घिसिङ रहेकी छन् ।
बहुविवाह मुद्दामा ३ वर्षअघि दोषी ठहर भएकी उनलाई मंगलबार घरबाटै पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, जिल्ला अदालत मकवानपुरले घिसिङलाई २०७९ चैतमा बहुविवाहको कसूरमा ११ महिना १८ दिन कैद गर्ने फैसला सुनाएको थियो ।
साथै अदालतले १० हजार रुपैयाँ जरिवाना पनि तोकेको थियो ।
पक्राउ परेकी उनलाई प्रहरीले कैद भुक्तानी तथा आवश्यक कारबाहीको लागि मंगलबार नै अदालतमा पेस गरेको थियो । अदालतले कैद र जरिवाना असुली गर्न घिसिङलाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ ।