थामीको उपचारमा हेटौंडा उपमहानगरको साथ

तु खबर संवाददाता
२०८१ मंसिर १२,बुधबार ०९:३६

मकवानपुर । आर्थिक अभाबले स्वास्थ्य उपचारबाट बञ्चित बनेका बिपन्न समुदायका व्यक्तीलाई हेटौंडा उपमहानगरपालिकाले साथ दिएको छ । दैनिक जिवनयापनका लागि पनि समस्यामा रहेको  हेटौंडा –१८ थामिटोलका ४५ वर्षीय पशुपती थामीको उपचारमा उपमहानगरले साथ दिएको हो ।

कही समय अघिबाटै स्वास्थ्य समस्या व्यहोरीरहेका उनको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भइरहे पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालले बेड छोडेर घर जान भनेको थियो ।

तीनदिन अघिबाट उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामासँगको समन्वयमा हेटौंडा अस्पतालमा उपचार भएपनि चिकित्सकले घर जान भनेपछि अस्पतालबाट बाहिरीएका थामीलाई मंगलबार सिएमसी चुरेहील अस्पताल पुर्याइएको छ ।

अस्पतालबाट बिना जानकारी घर गएका थामीलाई भेट्न मंगलबार नगर प्रमुख लामा र हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ सबेरै उनको घरमै पुगेका थिए ।

स्वास्थ्यमा समस्या भएका कारण बोली नआएपनि हातको इसारबाट उनले केही जानकारी नगर प्रमुख लामा र वडाध्यक्ष बानियाँलाई गराएसँगै थप उपचारको लागि चुरेहील लगिएको हो ।

हेटौंडा अस्पतालको रिपोर्ट अनुसार स्वास्थ्यमा अन्य समस्या नभएपनि ‘प्लेटलेट’ को मात्रा घटेको देखिए बताइएको छ । उपचारको क्रममा पोषणयुक्त खानेकुराको अभाबका कारण स्वास्थ्यमा सुधारहुन नसकेको आंकलनका साथ उनलाई स्थानिय हर्नामाडि स्वास्थ्य चौंकीमार्फत् सञ्चालनमा रहेको एम्बुलेन्समा राखेर चुरेहील पुर्याइएको थियो ।

बिरामी थामीसँगै चुरेहील पुगेका नगर प्रमुख लामा र अध्यक्ष बानियाँले चिकित्सक र व्यवस्थापनसँग समन्वय गर्दै उपचारमा कुनै समस्या नहुन सुझाब दिए । दैनिक जिवन यापनका लागि मजदुरी गनुपर्ने अवस्थामा रहेका उनको परिवारको लागि उपमहानगरपालिकाले आवश्यक खाध्यान्ह उपलब्ध गराएको थियो ।

नगर प्रमुख लामा र वडाध्यक्ष बानियाँले बिरामी थामीका लागि चामल, दाल, तेल, स्वयाबिन, कुखुराको अण्डा लगाएका खाद्यान्न हस्तान्तरण गरेका थिए । दैनिक जिवन यापनमा समेत समस्यमा रहेका थामी समुदायको उपचारमा सहज अवस्था श्रृजना गर्नका लागि वडाको सिफारीसमा उपमहानगरले स्वास्थ्य बिमा गरीदिने नगर प्रमुख लामाले बताइन् ।

आर्थिक अभाबका कारण स्वास्थ्य उपचारमा समस्या हुने, शिक्षाबाट बिमुख हुनपर्ने, दैनिक जिनव यापनमा समस्या व्यहोर्न पर्ने अवस्थालाई निराकरणका लागि उपमहानगर तयार रहेको उनले बताइन् ।

हेटौंडा–१८ मा रहेका थामीटोलका बासिन्दा दैनिक जिवन यापनका लागि मजदुरी गर्दै जिवन चलाउँदै आएका छन् । त्यहाँ १७ घर परिवार थामी समुदायको बासोबास रहेको छ ।