हेटौंडा–१२ का उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा व्यस्त
मकवानपुर । आसन्न स्थानीय तह उपनिर्वाचन अन्त्रगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदमा हुने चुनावको लागि उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ठूला राजनीतिक दललगायत स्वतन्त्र उम्मेदवारहरु आफ्नो वडाका मतदातासँग भेटघाट गर्दै मत माग्न व्यस्त भएका हुन् ।
चुनावी मैदानमा होमिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मत माग्दै आएका छन् ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा निर्वाचित भएपश्चात सो पद रिक्त रहँदै आएको छ । रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्ष पदका लागि मंसिर २ गते ९ जना राजनीतिक दलको तर्फबाट र ५ जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका थिए । तीमध्ये दुई जना स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन पत्र फिर्ता गरेका छन् भने हाल १२ जनाको उम्मेदवार कायमै छ ।
उम्मेदवारी दिएका १२ जनामध्ये मुख्य तीन प्रमुख दल नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी, नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी र नेकपा माओवादी केन्द्रका उम्मेदवार रबिकुमार प्रधान (रविन) बीच कडा प्रतिप्रस्पर्धा हुने देखिएको छ ।
नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा आफ्नो उम्मेदवार खडा गरेका छन् । रास्वपाको तर्फबाट आशावीर बल, एकीकृत समाजवादीको तर्फबाट बलराम बल र राप्रपाको तर्फबाट प्रेम लामा चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट फुलमाया तितुङ, जनता समाजवादी पार्टी (जसपा) बाट छबिलाल वाईबा र मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट दीपा लामाले मनोनयन दर्ता गराएका छन् भने स्वतन्त्र तर्फ अर्जुन घलान, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि चुनावी प्रतिस्पर्धामा छन् ।
उक्त वडामा महिला मतदाता ४ हजार एक सय ७४, पुरुष मतदाता ३ हजार ८ सय ७८ र अन्य मतदाता १ जना गरी कुल ८ हजार ५३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार, वडाध्यक्ष पदका लागि मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ ।