अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/bibaha.jpg)
काठमाडौँ । अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरिएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको हो ।
‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले भने । उनले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए ।
पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले बताए ।
दलित र गैह्रदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए ।
‘दीर्घकालीन रुपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’