उपनिर्वाचन मतगणनाको परिणाम वेबसाइटमा हेर्न पाइने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा हेर्न पाइने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएकी हुन् ।
जारी विज्ञप्ति अनुसार, यही १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
उक्त मतदान कार्य सम्पन्न भएर सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य सुरु हुने उनले बताइन् ।
मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवाको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ ।
आइतबार नगरप्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडाध्यक्ष ३३ गरी देशभरमा ४१ पदको लागि मतदान हुँदैछ । सो पदको लागि भएको मतदान सम्पन्न पश्चात मतगणना परिणाम समय–समयमा आयोगको वेबसाइमा अद्यावधिक गर्ने आयोगले जनाएको छ ।