हेटौंडा–१९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

तु खबर संवाददाता
२०८१ मंसिर १५,शनिबार ०९:३२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । वडा कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको ज्यामिरेको शेरशेरमा पुगेर वडा नम्वर १९ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

उपमहानगरका अन्य वडाहरु भन्दा ग्रामीण भू–भाग बढी समेटिएका उक्त वडा उपमहानगरकै दशौंं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १९ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीब्र तयारी भइरहेको बताइन् । उनले पछाडी परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागि परेको बताइन् ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष नरनाथ सुबेदीले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।
कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

१९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।