हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी गोष्ठीको समापन

तु खबर संवाददाता
२०८१ मंसिर १५,शनिबार ०९:४७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी दुई दिने प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको समापन गरिएको छ । प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट सुरु भएको उक्त प्रदेश स्तरीय गोष्ठी शुक्रबार समापन गरिएको हो ।

सो क्रममा बोल्दै खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले विकास आयोजना सञ्चालनका सवालमा तीन तहका सरकारबीच समन्वय अभाव रहेको उल्लेख गरे । उनले स्थानीय तहले मागे अनुसारको आयोजनाहरु प्रदेश सरकारले दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहको चासो कम पर्ने समस्या रहेको उल्लेख गरे ।

उक्त समस्याका बिचबाट संघीयता कार्यान्वयनको चरणहरु अघि बढिरहेको भन्दै उनले नागरिकको आवश्यकताको आधारमा विकास आयोजनाहरु निर्माणमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

उक्त गोष्ठीको बिहीबार प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले गुरुयोजनाबिना खानेपानीका योजना बन्दा यसले समस्या निम्त्याउने भन्दै विगतमा खानेपानीको उच्च माग रहेकोमा अहिले सडकको माग हुन थालेको बताएका थिए ।

गोष्ठीमा बागमती प्रदेशको मकवानपुरगढी, बकैया, कैलाश, तामाकोशी, गल्छी, गोदावरी, महाभारत, मेलुङ, गोदावरी, राक्सिराङलगायतका २२ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।