‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

तु खबर संवाददाता
२०८१ मंसिर १५,शनिबार १०:२३

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चर्चा भएको नेपाल प्रिमियर लिग (एनपिए) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उक्त क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्याने) को आयोजनामा आजदेखि राजधानीमा हुन लागेको हो ।

प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको उक्त प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।

आजको उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

एनपिएलमा विश्वचर्चित स्टार खेलाडीहरुको पनि सहभागिता रहेको छ । त्यसले गर्दा पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार पुरस्कार प्रदान गरिनेछ ।

क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के–कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा ५० प्रतिशत छुट पाउने क्याले जनाएको छ ।