पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८१ मंसिर १६,आईतवार ०९:१९

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । मंसिर ७ गतेबाट सात दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमसहित संचालन भएको जेसीज सप्ताह शनिबार समापन गरिएको हो ।

पालुङ जेसीजको सभाहलमा भएको समापन कार्यक्रममा थाहा नगरपालिका भित्र रहेर विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा लामो समयदेखि महिला स्वयंसेविकाको रुपमा सेवा दिदै आइरहेकी थाहा ३ की मधुमाया भुजेल र थाहा १ की सुनमाया गोपाली, शिक्षण पेसामा निरन्तर सक्रिय भई हालै निबृत्त भएका पालुङ जेसीज वर्ष २००७ का अध्यक्ष समेत रहेका कृष्णमान श्रेष्ठ, आधुनिक कृषिमा सक्रिय थाहा ६ बज्रबाराहीका तेजबहादुर उप्रेती र थाहा ३ का विकेश गोपाली रहेका छन् ।

त्यसैगरी, पर्यटन व्यवसायी पालुङ जेसीजका पूर्वध्यक्ष एवम् गौरी शंकर होटल दामनका शिवकुमार खत्री र नेपालमै पहिलो पटक बाख्राको चिज उत्पादक चित्लाङका असोक सिं ठकुरी सम्मानित भएका छन् ।

साथै दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरु क्रमशः सुस्मिता दोङ, आशा तामाङ र प्रमिला थोकरलाई पनि सम्मान गरिएको थियो ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा नेपाल सरकारका प्रमुख सचेतक समेत रहेका मकवानपुर क्षेत्र नं. २ का सांसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो क्रममा जेसीज सप्ताहमूल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गर्दै हप्ताभर गरिएको कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका पूर्व नगर उपप्रमुख एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष खड्गबहादुर गोपाली, सिमरा जेसीजका अध्यक्ष लक्की रिमाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु, थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ, बस्तिपुर जेसीजका अध्यक्ष अमृत पाठक, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल लगायत थाहा नगरपालिकाका शाखा प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमना सप्ताहव्यापी कार्यक्रममा विजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।