मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच सम्झौता

मकवानपुर । नेपालको चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थान (त्रिभुवन विश्वविद्यालय) बीच ऐतिहासिक सम्झौता भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली र चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डा. दिव्या सिंह शाहले हस्ताक्षर गर्दै ऐतिहासिक समझौता गरेका हुन् ।
यो सम्झौताको अवधि ५ वर्ष सम्म हुनेछ । जसअन्तर्गत प्रतिष्ठान र संस्थानले संयुक्त रूपमा क्लिनिकल सेवा, चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।
उक्त सम्झौताले विशेषतः हेटौंडा अस्पतालमा मुटु रोग, मृर्गौला रोग, जनरल सर्जरी, महिला तथा बाल रोगजस्ता विभिन्न विशेषज्ञ सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत गर्ने विश्वास लिएको उपकुलपति डाक्टर ज्ञवालीले बताए ।
यस्तै, डिन प्राध्यापक डा. शाहले यो सहकार्यले अनुसन्धानलाई प्रोत्साहन दिने र नेपालका युवा चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण प्रदान गर्ने वातावरण निर्माण गर्ने बताइन् ।