ठगी गरेको आरोपमा मकवानपुरका ब्लोनसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर १७,सोमबार १५:२७

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले मकवानपुरका एकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन, चितवनको राप्ती नगरपालिका–७ घर भई ललितपुरको ललितपुर महानगरपालिका–१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषाको धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३६ वर्षीय राज कुमार महरा रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउमध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका–१५ बाट, राजकुमारलाई काठमाडौं महानगरपालिका–७ बाट बिहीबार र चन्द्रलाई काठमाडौं महानगरालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।