आठ प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका आठ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा क्रमशः ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेका छन् ।
बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्रीले उनीहरुलाई प्रहरी नायव महानिरीक्षकहरूमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई सोमबार एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
आईजीपी कुँवरले नवनियुक्त डीआईजीहरुको पदोन्नतिसँगै जबाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको बताए ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने दृढता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।