एमालेको सात जिल्लामा अधिवेशन गर्न बाँकी
काठमाडौं । नेपाल एमालेको विभिन्न सात जिल्लामा अधिवेशन गर्न बाँकी छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार, मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी रहेको हो । बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने उनले बताए ।
गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भएपनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनको भनाई छ ।
बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने उनले बताए ।
पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको उनको भनाई छ ।