लागूऔषधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर २०,बिहीबार १५:४६

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कैलाली र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा शहिदभुमी गाउँपालिका–४ बस्ने २६ वर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दिनेश सुर्खेती (सार्की) रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, सुनसरीको धरान उपहानगरपालिका–८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय २० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीय चिरन्जिवी राई, सोही ठाउँ बस्ने २७ वर्षीय असिम राई र २९ वर्षीय मन्जिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चिरन्जिवीको कोठा तलासी गर्दा उक्त परिणामका लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सृजना कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले चितवनको भरतपुर महानगरपालिका–११ जखडीमाई मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३० ग्रामसहित गएराति पएक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–११ बस्ने ४० वर्षीय कमल कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट गणेशस्थानबाट खटिएको प्रहरीले सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कमललाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।