हेटौंडाको विद्युत् प्राधिकरणबाट सात करोडको सामान हरायो

तु खबर संवाददाता
२०८१ मंसिर २१,शुक्रबार १६:५०

मकवानपुर । हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको छ ।

हेटौंडाको जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारका सामान नपाइएपछि सामान हराएको पाइएको हो ।

सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको छ ।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति गठन भएको थियो ।

समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही प्रकृया अघि बढाइएको महाशाखा प्रमुख झाले बताए ।