पाँच जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

तु खबर संवाददाता
२०८१ मंसिर २१,शुक्रबार १७:२१

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका पाँच जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

राष्ट्र, जनता र संगठन प्रति पुर्याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह हुने अपेक्षा रहेको उनले बताए ।

यस्तै, कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने बताए ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरू लगायतको सहभागिता रहेको थियो ।